Connect with us

BUSINESS

भक्तपुरको श्री पस्मिनाबाट दस मजदुर निष्कासित

Avatar

Published

on

भक्तपुर नगरपालिका २ व्यासीस्थित भक्तपुर औद्योगिक क्षेत्र । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुर औद्योगिक क्षेत्रस्थित श्री पस्मिना उद्योगले दस जना मजदुरलाई निकालेको छ । समाजसेवी डा. गोविन्द टण्डन सञ्चालक रहेको उक्त उद्योगले निकालिएका मजदुरहरु आन्दोलनमा समेत उत्रिएका छन् । उद्योगले उनीहरुलाई गएको माघ १६ गतेदेखि बिदा दिएको हो ।
उनीहरुले आफूलाई श्रम ऐन, नियमावली र निर्देशिकाविपरीत गएर निष्कासन गरेको भन्दै श्रम कार्यालयमा उजुरी हालेका छन् । उजुरीमा पुनर्बहालीको माग पूरा नभए उद्योगमा तालाबन्दी गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
उद्योगमा कार्यरत करिब ५० मध्ये निष्कासित दस मजदुरहरुले विनाकारण आफूहरुलाई निष्कासन गरिएको बताएका छन् । उल्टै आफूहरुले काम गरेको समयको तलब, भत्ता र सञ्चयकोषसमेत नदिएको उनीहरुले आरोप लगाए ।
‘समाजसेवामा अग्रणी डा. गोविन्द टण्डनले हामीलाई विनाकारण उद्योगबाट निष्कासन गरेर अन्याय गर्नुभयो’, निकालिएकी एक महिला मजदुरले भनिन्, ‘त्यसमाथि काम गरेको पूरा तलब, भत्ता र सञ्चयकोषको रकमसमेत दिनुभएन ।’
यता उद्योगले भने उद्योगमा काम नभएकाले सहमति गरेरै उनीहरु हटेको स्पष्टीकरण दिएको छ ।
उद्योगका लेखापाल गिरिश नेपालले उद्योग सञ्चालक, ट्रेड युनियनका प्रतिनिधि र मजदुरहरुको संयुक्त बैठकको सहमतिअनुसार नै ती मजदुरहरु आफै बताए ।
‘उद्योगमा निरन्तर काम घटिरहेकाले गएको दसैंलगत्तै ट्रेड युनियन र कर्मचारीहरुलाई आवश्यक नहुने मजदुरलाई हटाइने जानकारी दिइएको थियो । त्यसैअनुसार सूचनासमेत निकालिएको थियो’, उनले भने, ‘सोही सूचनाअनुसार उद्योग सञ्चालक, ट्रेड युनियन र मजदुरहरुको संयुक्त बैठकले हाललाई दस जना मजदुर हटाउने सहमति गरेको थियो । सोही सहमतिअनुसार उहाँहरु हट्नुभएको हो ।’
लेखापाल नेपालले उद्योगमा काम बढे पुनः उनीहरुलाई नै काममा लगाउने सहमतिसमेत भएको सुनाए ।
श्रम ऐनकानुनअनुसार नै प्रक्रिया पु¥याएर उनीहरुलाई काम गरेकोभन्दा एक महिना बढीको तलबसमेत दिएर बिदा गरिएको लेखापाल नेपाल बताउँछन् ।
उनले उद्योगमा श्रम कार्यालयबाट मजदुर हटाएकोबारे पत्र आएको स्वीकार गर्दै त्यसको उत्तर दिने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
उनका अनुसार अरु काम नभएका मजदुरहरुलाई पनि प्रक्रिया पु¥याएर उद्योगले क्रमशः हटाउने लाने भएको छ ।
‘दुई वर्षअघिदेखि पस्मिनाको बजार खस्कँदै आएको छ । जसको प्रत्यक्ष असर उद्योगमा पनि परेको छ’, लेखापाल नेपालले भने, ‘त्यसैले काम नहुने मजदुरहरुलाई क्रमशः हटाउँदै लगिनेछ । काम गर्दै आएका मजदुर हटाउनु हाम्रो इच्छा होइन । कामै नभएपछि तलब खुवाएर राख्न सकिन्न ।’

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com